धनुषा : मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण हुँदा ७२ कर्मचारी कारबाहीमा परेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई\दुई जनाको सम्मिलित आठ वटा टोली बनाएर अनुगमन गर्दा मंगलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । पदीय मर्यादा अनुरूप काम नगरेको पाइएका दुई जना उपसचिवलगायत विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीसहित ७२ जना कारबाहीमा परेको उनले बताए ।
कर्मचारीले लापरबाही गरेको जनगुनासो बढेपछि जनकपुरधामस्थित प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका १८ वटा कार्यालयमा लगातार दुई दिन गरेको छड्के अनुगमनको क्रममा बिदा स्वीकृतिविना नै घर बसेका ३४ जना र तोकिएको पोशाक नलगाई कार्यस्थलमा उपस्थित भएको पाइएका ३८ जनालाई कारबाही गरिएको हो ।
त्यस क्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन, शिक्षा तथा संस्कृति मन्त्रालयका पाँच, गृह सञ्चार तथा कानून मन्त्रालय एक, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ, वन तथा वातावरण मन्त्रालयका छ, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच, ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जनालगायत विभिन्न कार्यालयका कर्मचारी कारबाहीमा परेका हुन् ।






