September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

काठमाडौंमा यस वर्षकै आजसम्मको न्यून तापक्रम

फाइल तस्बिर ।
२०८२ मंसिर २४

300

काठमाडौं : काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो ।
यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । सोमबार पनि काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ६.७ डिग्री सेल्सियस थियो । तर, ८ः४५ मा घटेर ६.१ मा झरेको थियो ।
“८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम थप घट्न सक्छ,” मौसमविद् डेबिड ढकाल बाह्रखरीसँग भन्छन्, “सामान्यतया ५ः४५ मा भन्दा ८ः४५ मा तापक्रम न्यून हुन्छ ।”
यसैबीच, काठमाडौंको भिजिबिलिटी आज बिहान ५ः४५ मा पाँच हजार मिटर छ । तराई र उपत्यकामा कुहिरो र हुस्सु लागेको छ ।
मौसमविद् ढकालका अनुसार सबैभन्दा कम भिजिविलिटी जनकपुरमा छ । जनकपुरमा बिहान ५ः४५ को भिजिबिलिटी ४०० मिटर छ । सोही समयमा धनगढी र दिपायलको ५०० मिटर र बिराटनगरको भिजिबिलिटी एक हजार मिटर रहेको छ ।

“जाडो बढ्ने क्रममा रहेकाले अब विस्तारै भिजिबिलिटी कम हुँदै जान्छ,” मौसमविद् ढकालले भने, “तर, घाम लाग्न थालेपछि बिहान भिजिबिलिटी कम भए पनि दिउँसो अवस्था सामान्य हुँदै जान्छ ।”
यसैबीच, आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।