रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल प्रहरीले देशभरिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत कर्मचारीमध्येबाट उत्कृष्ठ प्रहरी छनोट गर्दा रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी हुन् । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असई यादवलाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नुभयो । उनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छिन् ।
असई यादवले लैंगिक हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा, र लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उल्लेखनीय भूमिका खेलेको भन्दै राष्ट्रिय स्तरमै उत्कृष्टको सम्मान पाएकी हुन् । विभागीय नीतिको सफल कार्यान्वयन र संवेदनशील मुद्दामा पेशेगत योगदानका आधारमा उत्कृष्ट कर्मचारी छनोट समितिले उनलाई प्रथम बनाएको हो ।
यस्तै, दोस्रो स्थानमा प्रहरी सहायक निरीक्षक शान्ता खत्री परेकी छन् । अर्घाखाँचीको बालकोट चौकीमा दरबन्दी भई हाल कपिलवस्तुमा कार्यरत खत्रीलाई ३० हजार रुपैयाँसहित सम्मान गरिएको छ । तेस्रो स्थानमा प्रहरी हवलदार उमा तामाङ परेकी छन्, जसलाई २० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको छ ।
यसैगरी प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र असई साजना प्रसाईलाई सान्त्वना पुरस्कारका रूपमा १०÷१० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूको प्रभावकारिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रहरीले हरेक वर्ष उत्कृष्ट कर्मचारी सम्मान गर्दै आएको छ ।






