April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जाडो सुरु भएसँगै इन्फ्लुएन्जाबाट कसरी बच्ने ?

२०८२ कार्तिक २८

255

काठमाडौं : इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा (फ्लू) भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । यो भाइरस सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ ।
फ्लू कसरी सर्छ ?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
फ्लूका लक्षण के हुन् ?
ज्वरो आउनु, टाउको दुख्नु, शरीर र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु यसका लक्षण हुन् । नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु यसका लक्षण हुन् । तर फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्ने केन्द्रले बताएको छ ।
फ्लू रोकथाम कसरी गर्ने ?
बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्नु पर्ने केन्द्रको भनाइ छ ।
बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, आफ्नो आँखा, नाक वा मुख नछुने केन्द्रले प्रष्ट पारेको छ ।

“फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन,” केन्द्रले भनेको छ, “दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुपर्छ ।”