मुम्बई : बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रलाई स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । उनलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको भए पनि चिकित्सकहरूको सल्लाहमा केही समय निगरानीमा राखिएको हो ।
आगामी डिसेम्बर ८ मा ९० वर्ष पुग्न लागेका धर्मेन्द्रले उमेरका कारण सामान्य कमजोरी र हल्का ज्वरोको गुनासो गरेका थिए । यद्यपि, उनको परिवारका नजिकका स्रोतहरूले उनको अवस्था हाल स्थिर रहेको र चिन्ता गर्नुपर्ने कुनै अवस्था नरहेको जानकारी दिएका छन् ।
उनीहरूले प्रशंसकहरूलाई कुनै पनि हल्लामा विश्वास नगर्न अनुरोध गरेका छन् । आफ्नो लामो करियरमा स्वास्थ्यसम्बन्धी चुनौतीहरूको सामना गरे पनि, धर्मेन्द्रलाई बलिउडका सबैभन्दा सक्रिय वरिष्ठ कलाकारहरूमध्ये गनिन्छ ।
हालै उनको आगामी फिल्म ‘इक्कीस’ को ट्रेलर पनि सार्वजनिक भएको थियो । धर्मेन्द्रको परिवारले उनी चाँडै स्वस्थ भएर फर्किने विश्वास व्यक्त गरेको छ । उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरूले सामाजिक सञ्जालमा प्रार्थना गरिरहेका छन् ।

