April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जोमसोम–कागबेनी सडक भाँसिएपछि सयौँ पर्यटक फर्किए

२०८२ कार्तिक १५

225

मुस्ताङ : निरन्तरको वर्षाका कारण जोमसोम–मुक्तिनाथ–कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम–पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो ।
जोमसोम–कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो ।
प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताए । उनका अनुसार मुक्तिनाथबाट फर्किने क्रममा सडक भाँसिएको स्थानमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम तल झार्ने कार्य भइरहेको छ ।
जोमसोमबाट मुक्तिनाथतर्फ जान जोखिमपूर्ण रहेकाले रोकिएको बताउँदै प्रजिअ भुसालले उनले निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने जानकारी दिए । आवश्यक स्थानमा ड्रेन निर्माण नहुँदा अविरल वर्षाले सडक संरचनमा क्षति पुगेको उनको भनाइ छ ।
उक्त सडक अवरुद्ध भएपछि मुक्तिनाथ जानका लागि मुस्ताङ आएका अधिकांश पर्यटक जोमसोमबाट फर्किएका छन् । कतिपय पर्यटक भने सडक खुल्ने पर्खाइमा जोमसोममा बसेका स्थानीय मनिता थकालीले बताए ।
राष्ट्रिय गौरवको सडकअन्तर्गत आव २०७३\७४ मा ग्राभेलसहित कालोपत्रका लागि उक्त खण्डको ठेक्का सम्झौता भई काम अघि बढेको थियो । सात खण्डमा विभाजन गरिएको उक्त सडकअन्तर्गत पहिलो खण्ड विसं २०७६ मा आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।
विसं २०७९ मा जोमसोम–कागबेनी १३ किमी कालोपत्रका लागि ठेक्का लगाइएकामा गत वर्ष सम्पन्न गरी निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरेको थियो ।