September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नशालु इन्जेक्सनसहित रौतहटबाट महिला पक्राउ

२०८२ कार्तिक ४

375

रौतहट : रौतहटमा प्रहरीले ठुलो परिमाणमा नशालु इन्जेक्सनसहित एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गतको स्थायी प्रहरी चौकी बमनहरबाट खटिएको टोलीले गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिका–५ बमनहर नजिकै सोमबार साँझ चेकजाँचका क्रममा ती महिलालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गौरबाट चपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ना ५ ख ५०६३ लाई रोक गरी जाँच गर्ने क्रममा एक महिलामाथि शङ्का लागेपछि थप तलासी लिँदा ठुलो परिमाणमा लागुऔषध भेटिएको हो । पक्राउ परेकी महिला म्याग्दी जिल्ला बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया बिक रहेकी छन् ।
प्रहरीले उनका साथबाट फेनारगन ४९८ पिस, डाईजोपाम ४९१ पिस, नुफिन ४०० पिस र बुप्रेनोर्फिन १०० पिस गरी जम्मा १ हजार ४८९ पिस नशालु इन्जेक्सन बरामद गरेको हो ।
कार्कीका अनुसार पक्राउ परेकी महिलालाई बरामद गरिएको लागुऔषधसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ ।