काठमाण्डौं : ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ ।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ ।
नेपाल हालसम्म अपराजित छ ।
समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपालले शीर्ष ६ मा बलियो प्रतिद्वन्द्वी युएई र ओमानलाई पराजित गरेको थियो ।
अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ । उसको ६ अंक छ ।
एक खेल कम खेलेको ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग खेल्नेछ ।
जापान र ओमानबीच बिहान ११ बजे खेल हुनेछ ।
नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ । नेपालले हारे जापान र ओमानबिचको खेलपछि च्याम्पियनको टुंगो लाग्नेछ । ओमान पराजित भए नेपालले उपाधि जित्नेछ ।
सामोआ भने शीर्ष–६ मा जितविहीन रहँदै अंक तालिकाको पुछारमा छ । प्रतियोगिताबाट विश्वकपमा पुग्ने तीन वटै टिमको टुंगो भने लागिसकेको छ ।
नेपाल, युएई र ओमानले शीर्ष–३ मा स्थान सुनिश्चित गर्दै चार महिनापछि हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
सन् २०२६ को टी–२० विश्वकप प्रतियोगिताको आयोजना भारत र श्रीलंका ले संयुक्त रूपमा गर्ने छन् ।
विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने तय छ । छनोट भएका २० टोलीले सुरूमा समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । जसमा चार समूहमा पाँच पाँच टोली हुनेछन् ।
समूहका शीर्ष दुई दुई टोली गरी आठ टोली सुपर–८ मा पुग्नेछन् । त्यसपछि पनि दुई समूहमा प्रतिस्पर्धा हुने सपुर–८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
भारत र पाकिस्तान बीचका खेल श्रीलंकामा हुनेछ । फाइनलका लागि भारतको अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम वा पाकिस्तान योग्य भए कोलम्बोको आर प्रेमदासा स्टेडियम हुनेछ ।






