September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जेनजीका नाममा अराजक गतिविधिमाथि प्रहरीको निगरानी सुरु

२०८२ आश्विन ३०

700

काठमाडौँ : जेनजीका नाममा पछिल्लो समय विभिन्न कार्यालय, निकायमा पुगेर कानुनविपरीतका क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ ।
जेनजीका केही अगुवाले कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा दैनिक जसो विभिन्न सरकारी कार्यालयमा पुग्ने र ध्यानाकर्षणपत्र भन्दै कर्मचारीमाथि अमर्यादित गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिमाथि प्रहरीले आवश्यक कारबाहीका लागि निगरानी बढाएको हो ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जेनजीका नाममा विभिन्न कार्यालय पुगेर अमर्यादित क्रियाकलाप गर्ने र कानुनविपरीतका कार्य गर्नेमाथि आवश्यक कानुनी कारबाही भइरहेको बताउनुभयो । भट्टराईका अनुसार अनुगमनका नाममा आइतबार खानेपानी संस्थानमा पुगेर होहल्ला गर्ने आठ जनालाई नियन्त्रणमा लिई आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा छाडिएको छ । त्यसै गरी सोमबार तीनकुने चोकलाई जेनजी चोक नामकरण गर्नुपर्ने भनी ब्यानर प्रदर्शन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तिब्बत ओरिजिनल ब्लड (टिओबी) का नाममा शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले टिओबी समूहका तेन्जेन दावालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दावामाथि जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जेनजी आन्दोलनका क्रममा टिओबी लेखिएको झन्डा र टिसर्ट धारण गरेका नकाबधारी केही युवाले विस्फोटको आवाज आउने गरी बुलेट बाइक परिमार्जन गरी ओहोरदोहोर गर्ने र उच्छृङ्खल गतिविधि गरेको भिडियो बाहिरिएका थिए ।
तेन्जेनको समूह के उद्देश्यले जेनजी आन्दोलनमा सहभागी भयो र उसको के कस्तो भूमिका रह्यो भन्नेबारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसै गरी ज्ञापनपत्र बुझाउने नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, नेपाल वायुसेवा निगम न्युरोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा पुगेर अमर्यादित गतिविधि गर्ने केही युवामाथि प्रहरीले आवश्यक कारबाही अघि बढाउने तयारी गरेको छ ।
जेनजी अगुवा बताउने अर्जुनबहादुर शाही नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउने र अनुगमन गर्ने भनी ती कार्यालयमा पुगेर नेतृत्व तथा कर्मचारीलाई तत्काल राजीनामा गराउन दबाब दिँदै अमर्यादित गतिविधि गरेका भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि त्यस्ता गतिविधिको तीव्र आलोचना भइरहेको छ ।