काठमाडौं : नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ । एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो । केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ । सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन ।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्नेछन् ।
यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे पनि धारणा राख्नेछन् । जेनजी आन्दोलनका कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने केही केन्द्रीय सदस्यहरूले बताउँदै आएका छन् ।
सचिवालय बैठकमा पनि अध्यक्षबाट ओलीको राजीनामा र पार्टी पुनर्गठनबारे सघन बहस भएको थियो । तर अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
एमालेको दसौं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । मौजुदा कार्य समितिको पाँच वर्षको कार्यकाल सकिन अझै एक वर्ष बाँकी भए पनि विशेष परिस्थितिले महाधिवेशन वर सार्न लागिएको हो ।
केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि पुनःस्थापनाको मुद्दामा पनि छलफल हुनेछ । सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभा पुनःस्थापनाबारे अदालतमा रिट परे पनि एमाले आफै भने रिट लिएर जाने मनस्थितिमा देखिएको छैन । केन्द्रीय कमिटी बैठकले यसबारे थप निर्णय गर्नेछ ।
एमाले केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।






