काठमाण्डौं : इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गाजा पुर्याइएको पहिलो महिनामै भएको बताएको छ ।
विपिनको शव सोमबार अबेर राति हमासले इजराइललाई हस्तान्तरण गरेको थियो ।
शव परीक्षणपछि आइडिएफले एक्स (पहिले ट्वीटर)मा वक्तव्य सार्वजनिक गर्दै विपिनको मृत्यु बन्धक बनाएर गाजा पुर्याइएको पहिलो महिनामै भएको जनाएको हो ।
आइडिएफले विपिनको हत्या भएको पनि बताएको छ ।
’युद्ध सुरू भएको पहिलो महिनामै उनको हत्या भएको थियो,’ आइडिएफले एक्समा लेखेको छ ।
अर्का बन्धक गाय इलुजको भने समयमै उपचार नपाएर मृत्यु भएको खुलेको आइडिएफले जनाएको छ ।
फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने आइडिएफले जनाएको छ ।
इजराइलमा २०८० असोज २० मा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर गाजा पुर्याएको थियो ।
विपिनको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी असोज ९ मा अमेरिका गएका थिए । उनीहरू इजराइल नै पुगेर विपिनको रिहाइका लागि पहल गर्न त्यहाँको सरकारलाई आग्रह गरेर फर्केपछि अमेरिका गएका थिए ।
असोज पहिलो साता हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको बिदाइ तस्बिरु भन्दै सार्वजनिक गरेको थियो ।
हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये जिवित रहेका २० बन्धक रिहा भइसकेका छन् । विपिनको जीवित नरहेको कुरा सोमबार मात्रै थाहा भएको थियो । आइडिएफले दूतावासलाई पनि उनी जीवित नरहेको भनेको थियो ।

