काठमाडौं : दक्षिण चीन सागरको विवादित क्षेत्रमा चिनियाँ कोस्ट गार्डको जहाजले फिलिपिनी सरकारी जहाजलाई शक्तिशाली पानीको फोहराले प्रहार गर्दै ठक्कर दिएको छ । आइतबार उक्त ठक्करबाट जहाजमा सामान्य क्षति पुगेको फिलिपिन्स कोस्ट गार्डले जनाएको एपी समाचार एजेन्सीले बताएको छ ।
फिलिपिनी माछा मार्ने व्यक्तिहरूलाई सहयोग गर्ने मत्स्यपालन फ्लिटको ‘बिएरपी दातु पाग्बुवाया’ नामक जहाजका चालक दलका सदस्यहरूलाई भने चोटपटक नलागेको समाचारमा उल्लेख छ ।
चिनियाँ कोस्ट गार्डले फिलिपिन्सको नियन्त्रणमा रहेको थिटु टापुनजिकै पाग्बुवायालाई निशाना बनाएको बताइएको छ ।
यो घटना मनिला, बेइजिङ र अन्य देशबीच लामो समयदेखि जारी क्षेत्रीय विवादको पछिल्लो झडपका रूपमा देखा परेको हो ।
चिनियाँ कोस्ट गार्डले फिलिपिनी जहाजहरू थिटु र चीनको सुबी नामक कृत्रिम टापु बेसको बीचमा रहेको स्यान्डी के भनिने बालुवाको थुप्रोनजिकको चिनियाँ जलक्षेत्रमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोप लगाएको छ । फिलिपिनी जहाजहरूले चिनियाँ पक्षबाट बारम्बार दिइएका कडा चेतावनीहरूलाई बेवास्ता गरेको दाबी पनि गरेको छ ।
चिनियाँ कोस्ट गार्डले उनीहरूले कानुनअनुसार नियन्त्रणका उपायहरू अपनाउँदै फिलिपिनी जहाजहरूलाई दृढतापूर्वक पछाडि धपाएको बताएको छ ।
चीनले प्रमुख व्यापार मार्ग रहेको लगभग सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो सार्वभौमिकता र नियन्त्रणको दाबी बारम्बार दोहो¥याउँदै आएको छ । यद्यपि, २०१६ मा अन्तर्राष्ट्रिय मध्यस्थता अदालतले चीनको ऐतिहासिक दाबीलाई अमान्य ठहर गरेको थियो ।
चीनले उक्त फैसलालाई अस्वीकार गरे पनि संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया, युरोपेली संघ, क्यानडा तथा अन्य पश्चिमी र एसियाली सहयोगीहरूले त्यस फैसलालाई समर्थन गरेका छन् ।
अमेरिकाले चीनद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै गरिएका आक्रामक कार्यहरूको तत्काल निन्दा गर्दै आफ्नो नजिकको एसियाली सहयोगी फिलिपिन्सलाई समर्थन व्यक्त गरेको छ ।
मनिलास्थित अमेरिकी राजदूत मेरिके कार्लसनले यस घटनामा संलग्न फिलिपिनी कर्मचारीहरूले चीनको खतरनाक ठक्कर र पानीको फोहराको प्रयोगको सामना गर्दा देखाएको अतुलनीय साहस र कौशलको प्रशंसा गरेकी छिन् ।
फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता कमोडोर जे तारिएलाले विज्ञप्तिमा भनेका छन्, पाग–आसा (थिटु) टापुको क्षेत्रीय जलक्षेत्रमा पाग्बुवाया र मत्स्य तथा जलीय स्रोत ब्यूरोका अन्य दुई जहाजहरू रहेका बेला चिनियाँ कोस्ट गार्ड र शंकास्पद मिलिसिया जहाजहरू अचानकनजिक आइपुगेका थिए र खतरनाक तथा उत्तेजक व्यवहार गरेका थिए ।
उनले यस्तो आक्रामकताले मनिलालाई आफ्नो भूमिको एक इञ्च पनि कुनै विदेशी शक्तिलाई नछोड्ने दृढ निश्चयमा अझ सबल बनाएको बताए ।
यसैबीच, बेइजिङमा चिनियाँ कोस्ट गार्डका प्रवक्ता लिउ देजुनले स्यान्डी के (टाईक्सियान रिफ) नजिकको पानीमा दुई फिलिपिनी जहाजहरू चिनियाँ सरकारको अनुमतिबिना गैरकानुनी रूपमा प्रवेश गरेको दाबी गरेका छन् ।
उनका अनुसार, तीमध्ये एक जहाज खतरनाक रूपमा चिनियाँ कोस्ट गार्ड जहाजनजिक पुगेपछि घर्षण भएको थियो ।
लिउले सम्पूर्ण जिम्मेवारी फिलिपिनी पक्षको भएको बताउँदै फिलिपिन्सले दक्षिण चीन सागरको शान्ति र स्थिरतालाई कमजोर पारेको आरोप लगाए । उनले दक्षिणपूर्वी एसियाली देशलाई तत्काल यस्तो उल्लंघन र उत्पीडन रोक्न कडा चेतावनी दिएका छन् ।

