काठमाण्डौ : नेपालको मौसम प्रणालीमा मनसुनी वायुको प्रभाव रहिरहँदा दसैं अवधिभर पानी पर्ने सम्भावना बनेको छ ।
जल तथा मौसम विज्ञान विभागले दसैं बुलेटिन जारी गर्दै अष्टमी, नवमी र दसमीका दिन पानी पर्ने सम्भावना औंल्याएको हो ।
‘नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ हालको मौसम विश्लेषणअनुसार यस वर्षको दसैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ,’ विभागले भनेको छ ।
नेपालमा सरदरमा अक्टोबर २ (असोज १६) तारिखमा मनुसन बहिर्गमन हुने भए तापनि प्रत्यक वर्ष सो मिति भने फरक फरक हुने गरेको विभागले बताएको छ ।
विभागका अनुसार असोज १४ गते अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा प्रक्षेपण गरिएको छ ।
असोज १५ गते महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
असोज १६ गते टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् विनोद पोखरेलले पनि दसैंमा पानी पर्ने सम्भावना औंल्याएका छन् ।
उनले दसैंपछि पनि भीषण वर्षाको सम्भावना देखिएकोसमेत उल्लेख गरेका छन् । विभिन्न मोडल अध्ययन गरेर वर्षा प्रक्षेपण गर्दै आएका उनले मनसुनको उत्तराद्र्धमा भारी वर्षा हुने औंल्याएका हुन् ।
‘यो वर्ष नेपाललाई मनसुन आउँदा पनि दुःख दियो पानी नपरेर र मनसुन जाने बेलामा पनि भीषण वर्षा गराएर जाला भन्ने पो डर भयो,’ उनले भनेका छन्, ‘अहिलेको पूर्वानुमान हेर्दा अक्टोबर ४ ( असोज १८ गतेदेखि अक्टोबर ७ (असोज २१ गते) सम्म भारी वर्षाको सम्भावना देखाएको छ,’ उनले भनेका छन्। गत वर्ष पनि मनसुन बहिर्गमन हुने बेला (असोज १० गतेदेखि १३ गतेसम्म) भीषण वर्षा भएको थियो। २०७८ सालमा त मनसुन बहिर्गमन भएपछि भएको ठूलो वर्षाले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा समेत भित्र्याउन लागेको धानबालीमा गम्भीर असर पुर्याएको थियो ।
नेपालमा मनसुन याम सामान्यतया जेठ १८ देखि असोज १८ गतेसम्मलाई बुझिने गर्छ । यसअवधिमा सरदर १४७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष औसतभन्दा कम नै वर्षा भएको छ । यद्यपि मनसुन बाहिरिन केही समय बाँकी छ । यसवर्ष सरदरभन्दा १५ दिनअगावै मनसुनको आगमन भएको थियो ।






