September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहटका ४ पालिकाका कर्मचारीले दसैँमा पाएनन् तलव

२०८२ आश्विन १२

505

रौतहट : हिन्दुहरूको महान् पर्व बडा दसैँमा पनि रौतहटका हजारौँ सरकारी कर्मचारी र लक्षित वर्गका वृद्ध, अपाङ्ग, एकल महिला लगायतका लाभग्राहीले तलब र सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
जिल्लामा रहेका १६ नगरपालिका र २ गाउँपालिका (कुल १८ पालिका) मध्ये फतुवा विजयपुर, बौधिमाई, गुजरा र देवाही–गोनाही नगरपालिकाले अझै खाता सञ्चालन गर्न नसकेका कारण ती पालिकाका शिक्षक, कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने वर्गलाई दसैँअघि रकम उपलब्ध हुन सकेको छैन । बाँकी १४ पालिकाको खाता सञ्चालन भइसकेको कोलेनिकाले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवीप्रसाद गौतमका अनुसार नेपाल सरकारको नीति अनुसार असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने भए पनि देवाही–गोनाही र बौधिमाई नगरपालिकामा अहिलेसम्म नगरसभा हुन सकेको छैन ।
नगरसभा सम्पन्न गरेका फतुवा विजयपुर र गुजरा नगरपालिकाले पनि बन्दसत्र र अन्य आवश्यक प्रशासनिक प्रक्रिया समयमै पूरा नगरेका कारण खाता खोल्न ढिलाइ भएको हो ।
यस कारण चार पालिकामा कार्यरत शिक्षक र कर्मचारीहरूलाई समयमै तलब वितरण गर्न र लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिएको कोष लेखा कार्यालयले जनाएको छ ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले भने, “ढिलाभए पनि नगरसभा र बन्दसत्र दुवै सम्पन्न भइसकेका छन् । बाँकी रहेको योजनाको पोस्टिङ प्रक्रिया पूरा भएपछि २–४ दिनमै खाता सञ्चालन गर्ने तयारी छ ।”
यसबाट पालिकाहरूको आन्तरिक कमजोरीकै कारण दसैँ जस्तो महत्त्वपूर्ण पर्वमा कर्मचारीहरूलाई पारिश्रमिक नपुग्ने अवस्था सिर्जना भएको स्पष्ट हुन्छ । तलब र भत्ता नपाउँदा दसैँका लागि नयाँ कपडा, मिठा परिकार र घरफर्केर पर्व मनाउने सपना अधुरो हुने अवस्था आएको कर्मचारीहरूले गुनासो गरेका छन् ।
विशेषगरी टाढा गाउँ र बाहिर जिल्लाबाट आएका शिक्षक र कर्मचारीहरूले यात्रा खर्च अभावमा घर जान नसकेको दुखेसो सार्वजनिक गरेका छन् ।