काठमाडौँ : नेपाली कांग्रेस ललितपुर महानगर समितिले विषम परिस्थितिमा घोषणा भएको आम निर्वाचन पूर्व कांग्रेसको विशेष महाधिवेशन गरी नयाँ नेतृत्वका साथ निर्वाचनमा जान सुझाव दिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई लेखेको सुझाव पत्रमा समितिले नयाँ नेतृत्वका साथ निर्वाचनमा जाँदा राम्रो हुने उल्लेख गरेको हो । त्यस्तै देशको परिवर्तित नयाँ परिस्थितिको माग बमोजिम प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई कांग्रेसले पनि अपनाउन सुझाव दिइएको छ ।
कुनै पनि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको पद नराखी सम्पूर्ण तहका सभापति तथा पदाधिकारी पदहरुमा क्रियाशील सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी चयन गर्न पनि सुझाव दिइएको हो । यसले क्रियाशील सदस्यको औचित्य र महत्व सर्वश्रेष्ठ बनाउने दाबी समितिको छ ।
त्यस्तै भदौ २३ र २४ गतेको जनकारबाहीबाट कांग्रेसका विभिन्न नेताहरुका घरघरबाट निस्किएका अकुत सम्पत्तिको निर्ममतापूर्वक छानबिन हुनुपर्ने र कांग्रेसले सहयोग गर्ने तथा छानबिनको समयमा पदबाट निलम्बित गर्नुपर्ने सुझावसमेत महानगर समितिले दिएको छ ।

