काठमाडौं : नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् ।
गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहणको व्यवस्था मिलाइएको थियो । प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ ।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचोरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यापर्ण गरेकी थिइन् ।
जेनजी प्रतिनिधिहरूको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । यसअघि शनिबार प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुगेकी थिइन् ।

