काठमाडौँ : सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिला क्षेत्रका आमाहरूले आइतबार जितिया व्रत बस्दैछन् ।
शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत शुरु गरेका हुन् । आश्विनकृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।
शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास शुरु गरिएको हो। अष्टमी तिथि आइतबार बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि शुरु भएको हो ।
निराहार व्रत सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ ।
निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।






